Flash News

कम्युनिस्टको बिचार बोकेर कांग्रेस कम्युनिस्टको विकल्प बन्न सक्दैन ः थापा

मकवानपुर, ९ माघ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले कम्युनिस्टको बिचार बोकेर कांग्रेस कम्युनिस्टको विकल्प बन्न नसक्ने दाबी गरेका छन् । थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयता कम्युनिस्टको एजेन्डा भएकोले त्यो कांग्रेसले बोक्दा कांग्रेस कम्युनिस्टको भाई पार्टी मात्र बन्ने जिकिर गरे । राप्रपालाई अब कांग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउने प्रतिबद्धता पनि जनाएका छन् ।।पार्टीद्वारा आयोजित हिन्दुत्व जनजागरण अभियान अन्तर्गत हेटौंडा ६ मा मंगलबार बिहान आयोजित घरदैलो कार्यक्रममा थापाले धर्म, सस्कृती र पहिचान रक्षाको निमित्त एकपटक सबै जुरुक्क उठ्नुपर्ने समय आएको बताए ।मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै उनले वाईडबडी विमान प्रकरण, सुन कान्ड, विदेशमा राखिएको कालो धन छानविनको विषयमा सरकार उदासिन हुनु दुर्भाग्यपूर्ण भएको बताए ।
निर्मला पन्तको विषयलाई अहिलेसम्म टुंगोमा पुर्याउन नसक्नु सरकारको निमित्त लज्जाको विषय बन्नु पर्ने भन्दै उनले विधिको शासन नभएको, जसले जे गरेनी हुने अबस्था लोकतन्त्रको निमित्त घातक हुने बताए ।
राप्रपा एजेन्डाप्रति प्रतिबद्ध रहेको भन्दै थापाले पार्टी र नेतृत्वप्रती रहेको भ्रमलाई चिर्न कार्यकर्ता पङ्ति चनाखो हुनुपर्नेमा जोड दिए ।राप्रपा कुनै धर्मको विरोधी नभएको भन्दै धर्म निरपेक्षताले मुलुकमा धार्मिक सद्भाव र द्वन्द्व निम्त्याईएको बताए । गाउँका गाउँ धर्म परिवर्तन गराईएको प्रति उनको आक्रोश थियो ।कार्यक्रममा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, नगर अध्यक्ष गुरु प्रसाद सापकोटा लगायतले पनि आफ्नो धारणा राखेका थिए । सभापछि घरदैलो गर्दै वडा परिक्रमा गरिएको थियो ।