Flash News

जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, ४१ घाइते

फाल्गुन २६, २०७३- जाजरकोटको भेरीमालिका नगरपालिका-४, बोहरागाउँ नजिकै भीरबाट बस खस्दा मृत्यु हुनेको संख्या २० पुगेको छ । दुर्घटनामा चार दर्जन घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

सदरमुकाम खलंगाबाट जाजरकोटकै पश्चिम खाराबजारतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको यात्रु बस छिन्चु जाजरकोट सडकको बोहरागाउँ धनगारेडाँडा मोडबाट दुई सय मिटर तल पासागाड खोलामा खसेको हो । खलंगाबाट दिउँसो ४ बजे खारा बजारका लागि छुटेको भेरीगंगा यातयात व्यवसायी समितिको उक्त बसमा ५० बढी यात्रु सवार भएको अनुमान प्रहरीले गरेको छ ।

घटनास्थल सदरमुकाम खलंगादेखि पाँच किलोमिटरको दूरीमा रहेको छ । घटनास्थलबाट २० जनाको शव निकालेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए । मृतकको संख्या बढ्न सक्ने उनले बताए । मृतक कसैको सनाखत हुन नसकेको प्रनाउ रिमालले बताए । उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, स्थानीय लगायतले उद्धार गरिरहेका छन् ।

क्षमताभन्दा बढी यात्रु र ओरालो तथा घुम्ती सडकमा तीव्र गतिमा गाडी गुड्नु दुर्घटनाको प्रमुख कारण भएको रिमालले बताए ।