Flash News

धरहरा पुनःनिर्माण कहिले ? यसो भन्छन् प्रधानमन्त्री, प्राधिकरण

 काठमाडौं, वैशाख १२ । भूकम्पले ध्वस्त भएको काठमाडौंको भीमसेन स्तम्भ अर्थात् धरहरा पुनःनिर्माणको काम अझै सुरु भएको छैन ।

 

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएको धरहरा पुनःनिर्माणको जिम्मा पछिल्लो समयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लिएको छ ।

वि.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीको स्मृतिमा धरहरा निर्माण गर्न लगाएका थिए । इँटा, सुर्की, चून, मासको पीठो र चाकुको मिश्रणबाट धरहरा निर्माण गरिएको थियो ।

११ तला अग्लो उक्त धरहरा भने विक्रम संवत् १९९० को भुइँचालोले भत्काइदियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले सोही स्थानमा ९ तले पुनःनिर्माण गरेका थिए ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले १९० वर्ष पुरानो धरहरालाई पनि भत्काइदियो । धरहरा भत्कँदा १५५ जनाको ज्यानसमेत गयो । तर, भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि यसको पुनःनिर्माण प्रारम्भसमेत हुन सकेको छैन ।

माटोको ढिस्कोमा परिणत हुँदै गएको धरहराको पुनःनिर्माण पनि सर्वसाधारणका निजी घरको पुनःनिर्माणजस्तै बनेको छ ।

भूकम्पपछि देशमा चारओटा सरकार फेरिइसकेका छन् । तर, भूकम्पले ध्वस्त बनाएका संरचनाको अवस्था जस्ताको तस्तै छ ।

धरहरा पुनःनिर्माणका लागि विभिन्न संघ–संस्था र सरकारी निकायहरुले चासो नदेखाएका पनि होइनन्, नेपाली सेना र विभिन्न संघ–संस्थाले सहयोग पनि गरेका थिए ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियानको सुरुआत गरेका थिए ।

प्रधानमन्त्री ओलीसहित सबै मन्त्रीले एक महिनाको तलब दिएर धरहरा पुनःनिर्माणको काम जतिसक्यो छिटो गर्ने भाषण गरेका थिए । तर, ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु भएको तीन वर्षमा सो अभियान कता अल्मलियो भन्नेमा कोही पनि जानकार छैनन् ।

कहिले पुनःनिर्माण प्राधिकरण त कहिले नेपाल टेलिकमले धरहराको पुनःनिर्माण गर्ने योजना पनि बने । तीन वर्षसम्म भग्नावशेष हटाउनेबाहेक अरु काम हुन सकेको छैन ।

पुनःनिर्माण प्राधिकरणले यही आर्थिक वर्षभित्रै धरहरा पुनःनिर्माणको शिलान्यास गर्ने र प्राधिकरणको कार्यावधिभित्र धरहरा बनाइसक्ने दावी गरेको छ ।

धरहरा कस्तो स्वरुपको बनाउने भन्ने विषयमा पुरातत्व विभागले विस्तृत् डिजाइनसमेत प्राधिकरणलाई दिइसकेको छ । यद्यपि, काम भने हुन सकेको छैन ।