Flash News

निर्मला हत्याको एक वर्ष : जिम्मेवार अधिकारीका गैरजिम्मेवार अभिव्यक्ति

Post Views : 29 Views

काठमाडौं, साउन १० । बालिका निर्मला पन्तको हत्याको घटना अन्तर्राष्ट्रिय चासो बनिरहँदा पनि राज्यले अपराधी पत्ता लगाउन नसक्दा मुलुकमा न्याय मरेको आभास हुन थालेको छ ।

घटनाका विषयलाई लिएर जिम्मेवार अधिकारीहरुले नै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएपछि यसले थप निराशा निम्त्याएको छ ।

घटनापछि पीडित पक्षले न्याय माग्दै सुरु गरेको संघर्ष र दबाब उत्कर्षमा पुगेर पनि मत्थर हुन थालेको छ । तर, न्याय पाउने छाँट देखिएको छैन ।

घटना छानबिन गरी पीडितलाई न्याय दिन र दोषीलाई कारबाही गर्न ठूलो जनदवाव सिर्जना भयो । तर पनि राज्यका जिम्मेवार पदाधिकारीले कतिपय बेला गैरजिम्मेवारपूर्ण अभिव्यक्ति सार्वजनिक गर्ने क्रम रोकिएन ।

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाबारे पटकपटक विवादास्पद अभिव्यक्ति दिइरहे । उनले कहिले प्रहरीले शंका गरेको व्यक्तिलाई त्यत्तिकै अपराधी करार भएको घोषणा गरे, त कहिले घटनालाई अति सामान्यीकरण गर्दै यस्ता घटना पहिलो नभएको प्रतिक्रिया दिए ।

आपराधिक घटनालाई राजनीतिकरण गर्न खोजेको आरोपसमेत गृहमन्त्री थापाले लगाए ।

गृहमन्त्रीका यस्ता अभिव्यक्तिले एउटा निर्दोष नागरिकमाथि सरकारी मानसिकता कस्तो छ भन्ने प्रष्ट पारेको छ ।

घटनाको अनुसन्धान गर्न सरकारले कुनै पहल नै नगरेको भने होइन । सरकारले विभिन्न समिति गठन गरेर अनुसन्धान अघि बढाएको थियो । तर ती समितिहरुले पनि नयाँ तथ्य पहिल्याउन सकेनन् । दबाबमा परेका अनुसन्धान अधिकारी र घटनाक्रममा देखापरेका अनेक मोडलाई झेल्दै छानबिन अघि बढाएर दोषीसम्म पुग्न सरकार अहिलेसम्म असफल हुँदै आएको छ । यसले सरकारको शाख गिराएको छ भने नेपाल प्रहरीको क्षमतामै प्रश्न उठाएको छ ।

घटनाको एक वर्ष बितिसक्दा पीडित परिवारले न्यायको आशा मार्न थालेको छ । त्यो पक्कै पनि विधिको शासनका लागि राम्रो संकेत होइन । न्यायको आशा मर्न नदिन निर्मला पन्तका बलात्कारी र हत्यारालाई तत्काल कानुनी कठघरामा उभ्याउनु पर्छ ।