Flash News

प्रथम ईन्द्रसरोवर रनिङ शिल्ड आज बाट सुरू

मकवानपुर, ५ बैशाख । उत्तरी मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर २ कुलेखानी हेवीमा बुधबारदेखि प्रथम गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज कार्यक्रमका प्रमुख अतिथि एवं ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामाले उद्घाटन गरेका छन् । ईन्द्रसरोवर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा खेल सुरु भएको हो । उद्घाटन कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष चिरञ्जीवि पौडेलसहित अन्य बुद्धिजीवीहरुको आतिथ्यता रहेको थियो । प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा एक खेल नव लालीमा युवा क्लब फाखेलले जित हात पारेको छ भने दोस्रो खेल बराबरीमा रोएिको छ । पहिलो खेलमा फाखेलले देउराली सेवा समाजलाई १–० गोल अन्तरले पराजित गरेको हो । त्यस्तै दोस्रो खेलमा सानो मार्खु युवा क्लब र कुलेखानी फुटबल क्लबबिचको खेल गोलरहित बराबरीमा सकिएको छ । प्रतियोगितामा भोलि पनि २ खेल हुने बताइएको छ । प्रतियोगितामा दस वटा टिमहरु सहभागि छन् । प्रतियोगिताको विजेताले पचास हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले बिस हजार तथा तेस्रो हुने टिमले नगद दस हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई पनि शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।