Flash News

हटियामा पानीको मुहान जोगाउन अन्तरक्रिया, जनप्रतिनिधिले दिए सहयोग गर्ने वचन

Post Views : 95 Views

हेटौंडाः मकवानपुरको हटियास्थित गंगटेखोला शूक्ष्म जलाधार संरक्षण तथा व्यवस्थापन समितिले सो क्षेत्रमा पानीको मुहान जोगाउन जलाशय निर्माण गर्नेबारे आज स्थानीय र जनप्रतिनिधिको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले चुरे संरक्षण योजनासँगै जोडेर यस योजनालाई अघि बढाउन सुझाव दिए । आन्तरिक पर्यटन प्रबद्र्धनको लागि पनि जलाशय निर्माण राम्रो विकल्प भएकोले यस काममा आफूले सहयोग गर्ने सांसद दाहालले वचन दिए ।
यस क्षेत्रको तल्लो भागमा बाक्लो बस्ती छ । जनसंख्या बृद्धिसँगै पानीको मुहान सुक्ने समस्या हुनसक्ने भएकोले पानीको मुहान संरक्षण गर्ने उद्देश्यसहित यस कार्यक्रमलाई अगाडी बढाउन प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जोड दिए । स्थानीयले ल्याएको जलाशय निर्माणको योजनालाई सकारात्मक रुपमा लिएको भन्दै अन्तरक्रिया कार्यक्रममा सांसद पुलामीले यस योजनामा आफ्नो सहयोग रहने र उपयुक्त योजना भएकोले सफल हुनेमा विश्वस्त भएको बताए ।
राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले तल्लो भेगका बस्ती बाढीबाट बच्नका लागि जाली भर्ने भन्दा पनि जलाशय निर्माण गर्दा राम्रो हुने बताए । जलाशय निर्माणले दीर्घकालीन रुपमा पानीको मुहान संरक्षण गर्ने भएकोले जनसंख्या बृद्धिसँगै यस्ता कार्यक्रम जरुरी रहेको र यसमा आफूहरु सकारात्मक रहेको जनप्रतिनिधिले बताएका छन् ।

हेटौंडादेखि फूर्केचौरसम्म मानवबस्तीका लागि पानीको मुहान संरक्षण गर्न जरुरी रहेको र जलाशय निर्माण मुहान जोगाउने उपयुक्त विकल्प रहेकोले सो विषयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको हो । सो क्षेत्रमा जलाशय निर्माण गर्ने, डुंगा चलाउने योजना स्थानीयको छ । जसले पानीको मुहान जोगाउनुका साथै आन्तरिक पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुर्याउने अङारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव चुडामणी रुपाखेतीले जानकारी दिए ।
गंगटेखोला शूक्ष्म जलाधार संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर विष्टको सभाध्यक्षतामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यता तथा राष्ट्रियसभा सदस्य रामचन्द्र राई र ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको विशेष आतिथ्यता रहेको थियो ।