Flash News

रवि र निकिताले गरे ‘कोर्ट म्यारिज’, परम्परागत बिहे वैशाखमा

Post Views : 211 Views

७ माघ, काठमाडौं । श्रीमतीसँग डिभोर्सलगत्तै सञ्चारकर्मी रवि लामिछानेले नयाँ घर बसाएका छन् । उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेका हुन् ।
रवि र निकिता केही महिनादेखि प्रेममा थिए । यद्यपि, सार्वजनिकरुपमा आफूहरुबीचको प्रेम स्वीकार गरेका थिएनन् । निकतासँग बिहे गर्नकै लागि रवीले आफूलाई डिभोर्स दिएको आरोप उनकी पूर्वपत्नी ईशा श्रेष्ठले लगाउँदै आएकी छन् । निकिता पनि डिभोर्सी हुन् । सोमबार फेसबुकमा स्टाटस लेखेर रवीले निकितासँग बिहे गरेको जानकारी दिएका हुन् । उनले एक–अर्काको परिवार, आफन्त र नातागोताको छलफल एवं अनुमतिमा काठमाडौं जिल्ला अदालतमा बिहे दर्ता गरेको बताएका छन् ।
‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर, हामी दुवैप्रति जसरी मानसिक यातना हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक–अर्काको निकै खाँचो पर्‍यो । हामी समस्त दर्शक शुभचिन्तक, परिवार इस्टमित्रहरुबाट एउटै मात्र कुरा चाहन्छौं आशिर्वाद ।’ त्यसो त उनले आगामी वैशाखमा परम्परागत रुपमा फेरि बिहे गर्ने पनि बताएका छन् । आफूहरु दुवै जना यो निर्णयबाट खुशी रहेको रवीले बताएका छन् । उनले सुखद दाम्पत्य जीवनको लागि शुभकामनाको चाहना राखेका छन् । रवि र निकिता चाबहिलमा एउटै अपार्टमेन्टमा बस्ने गर्थे । उनीहरु लिभिङ टुगेदरमा रहेको कतिपयको आशंका थियो । तर, उनीहरुले आफूहरु फरक फरक फ्ल्याटमा बस्ने गरेको दावी गरेका थिए । निकितासँग बिहेसँगै रविको काँधमा तीन परिवारको जिम्मेवारी आएको छ । उनले पूर्वपत्नी ईशा र उनीतर्फका दुई छोरीहरुको सम्पूर्ण जिम्मेवारी लिने गरी सम्झौता गरेका छन् । यस्तै उनको एक विदेशी महिलासँग सम्वन्ध भएर एक छोरा छ । ती महिलाले छोरालाई दिदीको जिम्मा लगाएर अर्कै पुरुषसँग बिहे गरेकी छन् । यता निकिताको पूर्वपतिका तर्फबाट एक छोरी छिन् ।
आवश्यक पर्दा ती छोराको पनि जिम्मेवारी पनि रविले वहन गर्नुपर्ने अवस्था छ । रविकी पत्नी ईशाले केही दिनअघि रवीलाई चौंथो सम्वन्धका लागि शुभकामना दिएकी थिइन् ।