Flash News

श्रावणको पहिलो सोमबार मकवानपुरको शिव मन्दिरमा भक्तजनहरुको घुईचो

२ श्रावण/हिन्दु धर्मालम्वीहरुको विशेष महत्वका साथमा हेरिने सोमबारका दिन अधिकांश मन्दिरमा भक्तजनहरुको घुईचो लाग्ने गर्छ । झन साउनको पहिलो सोमबार उनीहरुको लागि अझ विशेष दिन हो । आजको दिनमा मकवानपुरकाका विभिन्न मन्दिरहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुईचो लागेको छ । साउनको पहिलो सोमबारका अवसरमा हेटौंडा–१२ पदमपोखरी बेलडाँडामा रहेको गुप्तेश्वर महादेव मन्दिरमा ठूलो बोलबम यात्रा नै आयोजना गरिएको छ । यो वर्ष बोलबम यात्रा समेत स्थानीय स्तरमै गरिएको स्थानीय माधव ढुङ्गानाले जानकारी दिए । बिहानै कुष्माण्ड सरोवर त्रिवेणीधामबाट जल बोकेर बेलडाँडामा रहेको शिव मन्दिरमा जल चढाउने गरी बोलबम यात्रा तय गारिएको हो । त्यस्तै हेटौंडाको पशुपति मन्दिरमा पनि भक्तजनहरुको घुईचो लागेको छ भने जिल्लाका कुष्माण्ड सरोबर लगायतका अन्य मन्दिरमा समेत उस्तै घुईचो छ । साउनमा महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगाएर साउने सोमबारमा व्रत बस्ने गर्छन् । पौराणिक मान्यतामा शंकरको पूजा आराधनाका लागि सर्वश्रेष्ठ दिन महाशिवरात्री र त्यसपछि साउन महिनामा आउने प्रत्येक सोमबार र हरेक महिनामा आउने सोमबारको महत्व छ । देवादिदेव महादेवलाई साउन महिना अति पृय रहेको मानिन्छ । यसै मान्यता अनुसार यो महिना, खास गरेर सोमवारको व्रत–उपवास तथा पूजा आराधना एवं रूद्राभिषेक, कवच पाठ, जप आदि गरी शिवजीको विशेष पुजा गरिन्छ । योे महिनाभरि माछा मासु परित्याग गर्ने चलन पनि छ । शिवपुराणमा उल्लेख भएअनुसार यसै साउन महिनामा नै पौराणिक कालमा देव दानवले समुन्द्र मन्थन गरेका थिए । समुन्द्र मन्थनबाट कालकुट महाविष निस्केर संसार भष्म हुन लाग्दा महादेवले आफ्नो घाँटीमा वरण गरी संसार ध्वस्त हुनबाट जोगाएका थिए ।


सम्बन्धित समाचार शीर्षकहरु