Flash News

सोमालियामा भोकमरीः झण्डै दुई लाख बालबालिका मृत्युको मुखमा

चैत ११ – सोमालियामा लगातारको खडेरीका कारण लाखौं मानिस भोकमरीको चपेटामा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । लगातार दुई वर्ष खडेरीका कारण मुख्य खाद्य बालीको उत्पादन नभएकाले सोमालियामा खाद्य संकट गम्भीर बनेको छ ।अहिले देशको आधा जनसंख्या भोकमरीको चपेटामा रहेकोले त्यहाँ मानवीय संकटको अवस्था रहेको राष्ट्रसंघको भनाई छ । सोमालियाका ६२ लाख मानिसलाई बाच्नका लागि मानवीय सहायताको खाँचो छ । यस्तै खडेरीका कारण स्वच्छ खाने पानीको अभाव भएको छ । दुषित पानीको प्रयोगका कारण हैजा जस्ता महामारिजन्य रोग फैलिने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

२९ लाख भन्दा बढी मानिसलाई तत्काल खाद्य सहायताको खाँचो रहेको राष्ट्रसंघले जारी गरेको नयाँ प्रतिवेदनमा उल्लेख छ । भोकमरी तथा पानीको अभावका कारण सबै भन्दा धेरै बालबालिका प्रभावित भएका छन् । १० लाख भन्दा धेरै बालबालिका कुपोषित रहेको र त्यसमध्ये एक लाख ८५ हजार तत्काल उपचार नपाएमा ज्यान गुमाउने अवस्थामा रहेको राष्ट्रसंघको भनाई छ । खडेरीका कारण धेरै मानिस विस्थापित पनि भएका छन् । यसले गर्दा महिला तथा किशोरीमा यौनजन्य हिंसाको जोखिम बढेको भन्दै राष्ट्रसंघले तत्काल सहयोगका लागि एकीकृत प्रयास गर्न विश्वसमुदायसँग आग्रह गरेको छ ।

सोमालियामा सन् २०११ मा भोकमरीका कारण दुई लाख ५० हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । चाँडै नै अहिलेको भोकमरीको अवस्थासँग जुध्नका लागि काम नगर्ने हो भने धेरैको ज्यान जाने जोखिम रहेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । सन् २०११ को अवस्था आउन नदिनका लागि अहिले ८२ करोड ५० लाख अमेरिकी डलरको खाँचो रहेको राष्ट्रसंघले जनाएको छ ।