Flash News

हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने

नेपाल टेलिकमले ल्याएको बिद्यार्थी अफर प्रिपेड सिमकार्ड शुक्रबारबाट मकवानपुर जिल्लामा सित्तैमा वितरण गरिदैछ । टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि विद्यार्थी अफर अन्तरगत बैशाख ३ गतेदेखी असार मसान्त सम्म सिमकार्ड उपलब्ध गराउने भएको हो । सिमकार्ड बितरणको लागि नेपाल टेलिकम हेटौंडाको कार्यालयमा निशुल्क सिमकार्ड बितरण सचिवालय सञ्चालन गरिएको छ ।
जसअन्तर्गत विद्यार्थीलाई ५० रुपैयाँको टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइनेछ । अफरमा थप विद्यार्थीलाई ६ महिनासम्म बोनसको रुपमा महिनाको ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधासमेत उपलब्ध गराइने छ । यो सुविधाको उपभोग गर्ने अवधि ७ दिनको हुनेछ । एसईई परीक्षा दिएका विद्यार्थीले यो अफर अन्तर्गतको सिम लिन विद्यालयको परिचयपत्र वा परीक्षाको प्रवेशपत्र, फोटो र अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनुपर्नेछ ।
त्यसैगरी उच्च मावि वा माथिल्लो तहका विद्यार्थीले आफ्नो वा अभिभावकको नागरिकता, आफ्नो फोटो र उच्च मावि वा कलेजको परिचयपत्रको प्रतिलिपी उपलब्ध गराउनुपर्नेछ । यो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा बढीको रिचार्ज गर्दासमेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराइनेछ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।