Flash News

​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ

मोरङ, वैशाख १९ – महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । साढे ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्यको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक “एसपी” विकासराज खनाल, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई पक्राउ गरिसकेको मोरङ प्रहरीले आज जिल्ला प्रहरी कार्यालय मोरङमा बयान दिन पुगेका एसएसपी लोहनीलाई समेत पक्राउ गरेको हो ।
साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिन समितिले महाशाखाका तत्कालीन एसएसपी लोहनीको भूमिकालाई शंकास्पद रहेको ठहर गरेको थियो । गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानबिन समितिले लोहनीको भूमिका शंकास्पद रहेको बताएपछि उनी अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यालय नक्साल तानिएका थिए ।